पाल्पा
२०८२-०७-३०
राजु सामत
पाल्पा—पाल्पामा मुहान भएको तिनाउ खोला धमिलो र कालै बगेको फोटो/भिडियो केही दिनयता सामाजिक सञ्जालमा भाइरल बन्यो । प्रशासन, प्रहरी, स्थानीय सरकारले चासो दिन थाले ।
वास्तविकता पत्ता लगाउन इलाका प्रहरी कार्यालय पूर्वखोलाको प्रहरी शनिबार सुक्खा पहिरो गएको स्थलमा पुगेको छ । पूर्वखोला गाउँपालिका–४, देवीनगरको उडडाँडा तिनाउ खोलाको मुहान क्षेत्र हो । यहाँको सुक्खा पहिरोमा पानीको मुहान भएकाले कालो लेदो बगेको निष्कर्ष निस्केको इलाका प्रहरी कार्यालय पूर्वखोलाका वरिष्ठ प्रहरी हवल्दार नेत्रबहादुर भाट क्षेत्रीले बताए ।
माथागढी गाउँपालिका–१ चिदीपानीका वडाध्यक्ष राजकुमार पन्थीका अनुसार केही दिनयता तिनाउ खोलामा धमिलो र कालो खालको पानी बगेको थियो । ‘माथिल्लो क्षेत्रमा तटबन्धको काम हुने भएकाले एकदुई दिन सामान्य सोचियो,’ उनले भने, ‘तर निरन्तर बग्न थालेपछि खोजीनीतिका लागि सामाजिक सञ्जालमा राखेका थिए । त्यसपछि प्रहरी प्रशासनको पनि चासो लागेको हो ।’ तिनाउ खोलाको तल्लो तटीय क्षेत्रमै कालो र धमिलो भएर पानी बगेपछि स्थानीयले सामाजिक पोस्ट गरेका छन् ।
वर्षायाममा लेदो माटो थियो भने केही दिनयता कोइलाको कालो लेदोमाटो बगेको छ । ‘कोइलाको कालो लेदो भएकाले तल्लो तटीय क्षेत्रमा कालो र धमिलो जस्तो पानी बगेको हो,’ स्थानीय खेमबहादुर बराल मगरले भने, ‘पानीको मुहान सानो छ तर भिरालो र कोइला पानीपरेपछि लेदो हुने भएकाले समस्या निम्तिएको छ ।’
- वर्षायाममा लेदो माटो थियो भने केही दिनयता कोइलाको कालो लेदोमाटो बगेको छ । ‘कोइलाको कालो लेदो भएकाले तल्लो तटीय क्षेत्रमा कालो र धमिलो जस्तो पानी बगेको हो,’ स्थानीय खेमबहादुर बराल मगरले भने, ‘पानीको मुहान सानो छ तर भिरालो र कोइला पानीपरेपछि लेदो हुने भएकाले समस्या निम्तिएको छ ।’