सुर्खेत
२०८२-७-२५ गते
राजु सामत
“पहिलो पाइला नेपाल” बुटवल शाखाको प्रेरणादायी पहल — शिक्षा, स्वास्थ्य र मानवताको एकै दिन तीन उज्याला अध्याय
सुर्खेत, विरेन्द्रनगर — समाजसेवाको भावनालाई जीवन्त रूप दिँदै पहिलो पाइला नेपाल बुटवल शाखाले कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित विरेन्द्रनगर–८ मा एकै दिन तीन सामाजिक कार्यक्रम सम्पन्न गरी प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।
सकस र अभावबीच पनि उज्यालो भविष्यको सपना बोकेका बादी समुदायका ११० बालबालिकाको हातमा उक्त संस्थाले ‘भाग्य बोक्ने झोला’ सुम्पिएको थियो । उक्त झोलामा कपी, कलम, पेन्सिल, कलर, ज्यामिती बक्स, टिफिन बक्स र रुमालसहित आवश्यक शैक्षिक सामग्री समावेश गरिएको थियो — एक झोलाभित्र आशा र सम्भावनाको संसार समेटिएको जस्तै।शिक्षापछि स्वास्थ्यमा पनि समान ध्यान दिँदै, मेट्रो आई केयर लुम्बिनी को प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गरियो । शिविरमा आएका सर्वसाधारणलाई आँखाको स्वास्थ्य परीक्षण, औषधि र आवश्यकतानुसार चश्मा वितरण गरिएको थियो। त्यससँगै मानवीयताको अर्को पक्ष उजागर गर्दै खाद्यान्न वितरण कार्यक्रम पनि सम्पन्न गरियो, जसअन्तर्गत १० बोरा चामल, २ बोरा दाल र २ कार्टुन तेल हस्तान्तरण गरियो ।
कार्यक्रमको सभाध्यक्षता बुटवल शाखा अध्यक्ष गोमा भट्टराई ले गर्नुभएको थियो भने प्रमुख आतिथिका रूपमा वरिष्ठ नशा तथा मानसिक रोग विशेषज्ञ डा. सुषिल समदर्शी उपस्थित हुनुहुन्थ्यो । संस्थाका सचिव रुद्र खनाल ले कार्यक्रम सञ्चालन गरेका थिए।
कार्यक्रममा प्रथम उपाध्यक्ष गौरव खनाल ले स्वागत मन्तव्य राख्दै संस्थाको उद्देश्य, प्रतिबद्धता र आगामी योजनाबारे प्रकाश पार्नुभयो । त्यस्तै केन्द्रीय सदस्य राजन अधिकारी, समाजसेवी रत्नलाल न्यौपाने, बादी सरोकार मञ्चका सञ्चालक हिक्मत बादी लगायतका अतिथिहरूले शुभकामना मन्तव्य दिए ।
कार्यक्रमको समापन सह–सचिव प्रकाश पोखरेल ले धन्यवाद ज्ञापनसहित गर्नुभयो।
कार्यक्रमका संयोजकहरूमा ‘भाग्य बोक्ने झोला’ कार्यक्रमका संयोजक द्धितिय उपाध्यक्ष मनिस खनाल र कार्यसमिति सदस्य सोमनाथ खनाल, निःशुल्क आँखा शिविरका संयोजक सह–सचिव प्रकाश पोखरेल, र खाद्यान्न वितरण कार्यक्रमका संयोजक सदस्य नविन पोखरेल रहेका थिए ।
सगरमाथा मार्बल हाउस, मेघा कलेज तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति संस्थाले हार्दिक आभार व्यक्त गरेको छ ।
सामाजिक उत्तरदायित्वलाई कर्मको रूप दिने क्रममा, पहिलो पाइला नेपाल बुटवल शाखाले शिक्षा, स्वास्थ्य र मानवीय सेवामा आफ्ना कदमहरू अझ दृढतापूर्वक अघि बढाइरहेको सन्देश दिएको छ — साँचो अर्थमा, समाज परिवर्तनको पहिलो पाइला यहीँबाट सुरु भएको छ।
