अर्घाखाँची
७भदौ २०८२
बिजय बस्याल
अर्घाखाँची अस्पतालमा विशेषज्ञ डाक्टरसहितको सेवाहरू थप गरिएको छ। अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीका अनुसार अस्पतालले दैनिक रूपमा प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा. सुजन शर्माबाट बिरामीको चेकजाँच साथै अप्रेसन सेवा तथा विशेषज्ञ डा. अनुपकुमार गुप्ताबाट दैनिक रूपमा हाडजोर्नी विशेषज्ञ सेवासँगै अप्रेसन सेवा समेत उपलब्ध गराइएको छ।
अस्पतालमा मुटुको भिडिओ एक्सरे, इको, रंगिन भिडिओ एक्सरे, आँखाको उपचार सेवा, एमडिजिपि विशेषज्ञबाट ओपीडीमा नसर्ने रोगको उपचार सेवा थप भएका छन् । अस्पतालले आगामी दिनहरूमा मृगौला रोगीहरूको लागि डायलासिस, इन्डोस्कोपी सेवा थप गर्ने र विशेषज्ञ तथा ल्याब सेवालाई थप बिस्तार गर्ने योजनामा रहेको एमडिजिपी विशेषज्ञ डा. पवन कुमार शाहले जानकारी दिए।
अस्पतालमा विशेषज्ञ डाक्टरसहितको उपचार सेवा
सहज रूपमा प्राप्त गर्न सकेकोमा बिरामीहरू खुसी भएका छन् । साथै पछिल्लो समयमा सेवा लिन आउने बिरामीको सङ् ख्यामा पनि वृद्धि भएको एमडिजिपी विशेषज्ञ डा. शाहको भनाइ छ। २०४५
सालमा स्थापना भइ १५ बेड क्षमतामा सञ्चालनमा आएको अस्पतालमा हाल प्रदेश सरकारको प्रस्तावित ५० बेड क्षमतामा स्वास्थ सेवा प्रदान गरिने भनिएपनि अस्पतालमा अहिले ६१ वटा बेड सञ्चालन गरि बिरामीहरूलाई सेवा प्रदान गरिदै आएको छ। अस्पतालमा दैनिक रूपमा २०० देखि ३५० जनासम्म बिरामीहरूलाई
चेकजाँच तथा उपचार सेवा प्रदान हुँदै डा. शाहले जानकारी दिए।
११औं तहको मेडिकल सुपरिटेन्डेन्ट डाक्टरको नेतृत्वमा ६६ जनाको स्वीकृत दरबन्दी भएपनी अहिले अस्पतालमा स्थायी, समिति करार, दरबन्दी करार, छात्रवृत्ति करार, अन्य कार्यक्रम करार र एनएसआई करार गरि १०१ जना कर्मचारी कार्यरत रहेका छन् ।
तीमध्ये २ जना अध्ययन बिदामा रहेको अस्पतालका सूचना अधिकारी निम रानाले जानकारी दिए ।
अस्पतालको व्यवस्थापन तथा संगठन सर्वे नहुँदा प्रस्तावित अस्थाई दरबन्दीमा सञ्चालन गर्नुपरेको, अस्पतालको भवन जिर्ण रहेको, विशेषज्ञ चिकित्सकहरूको अभाव रहेको, भवन निर्माण प्रक्रियामा ढिलाइ भएको, ब्लड बैंक नहुँदा निःशुल्क रूपमा रक्तदान सेवा प्रदान गर्न नसकिएको जस्ता समस्याहरूका कारण सोचजस्तो सेवाहरू प्रदान गर्न नसकिएको अस्पताल प्रमुख डा. तिवारीले बताए ।